FAQs Complain Problems

समाचार

Brief Introduction

परिचय

         नेपाल सरकारद्धारा रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित मन्थली नगरपालिका तत्कालिन ७ वटा गाउँ विकास समितिहरु ( मन्थली,कठजोर, सालु, सुनारपानी, भलुवाजोर, भटौली र चिसापानी) लाई समायोजन गरेर १६वटा वडा रहने गरी २०७१ मसिर १६ गते घोषणागरियो । नेपालको सविधान वमोजिम राज्यको पुन: सरचना हुने क्रममा नेपाल सरकारले २०७३ साल फाल्गुण २७ गतेवाट लागु हुने गरी तत्कालिन नगरपालिकाका वडा सहित क्रमश: पुरानागाँउ, चनखु, गेलु र फुलासी गाँउ विकास समितिलाई समेत समावेश गरी १४ वटा वडा भएको नगरपालिकाको रुपमा स्थापित भएको छ ।           

यो नगरपालिका वागमती प्रदेश अन्तर्गत रहेको ११९ वटा स्थानीय तह मध्येको एक हो । यस नगरपालिकाको क्षेत्रफल २११.७७ वर्ग किलोमिटरअर्थात (२११७७ हेक्टर) माफैलिएको छ । जसमध्ये कृर्षि भू उपयोगका दृष्टिले ७३३६ हेक्टर जमिन रहेको छ जसमा संचित जमिन १३५६ हेक्टर र  असंचित जमिन ४५१३ हेक्टर रहेको छ ।

         यस नगरपालिकाको औषत तापक्रम २० देखि २५ डिग्री सेल्सियस रहेको छ । गर्मी याममा अधिकतम ३२ डिग्री सेल्सियस र न्यूनतम २ डिग्री सेल्सियस रहने गर्दछ । यस नगरपालिकामा कम उचाइ भएका सुनकोशी नदी, तामाकोशी नदी, भटौली र रणजोर खोला आसपासका वस्तीहरुमा उष्ण मौसमी हावापानी र यसका अलवा नगरपालिकाका अधिकांश भू भागमा न्यानो समशीतोष्ण हावापानी पाइन्छ ।

         यस नगरपालिकाको भौगोलिक स्वरुप निकै भिरालो रहेकोले वर्षायाममा भू-क्षय र पहिरो निकै जाने गर्दछ । रणजोर खोलाको सिरमा रहेको घ्याप्चे पहिरो ठूलो र अनौठो रुपमा रहेको छ । यो पहिरोवर्षायाममा रोकिने र सुख्खा याममा निरन्तर गइरहने गर्दछ । यस पहिरोले वडा न ३ र ४ का अधिकांश वस्ती विस्थापित गर्नुका साथै सदरमुकामलाई समेत जोखिम युक्त वनाएको छ ।

         प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रुपमावामचुराको वैरामहादेव( थानपति मन्दिर), चिसापानीको भिमसेन थान र चिसापानी गढी,  कठजोरको ऐराम्वास मन्दिर, सुनारपानीको थानपती मन्दिर, भलुवाजोरको तिल्केस्थानगढी, भटौलीको ढिकुरे मन्दिर नगरपालिकाको अमूल्य निधिका रुपमा रहेका छन् ।

         मन्थलीको नामाकरणको सन्दर्भमा स्थानीय माझी जातिसँग जोडिएको कथा गाँसिएको छ । विशेषगरी आदिमकालदेखि मन्थलीको आसपास रहेका चिसापानी, मन्थली, भटौली, भलुवाजोर, पकरवास जस्ता गाउँ विकास समितिका भू भागहरुमा माझी जातिहरुको वसोवास रहेको पाइन्छ । सो जातिको छुट्टै राजा हुने चलन अनुसार एक जना मन नामक राजा रहेको र राजा वस्ने थलोलाई मनथलो भनिएको, पछि सो शव्द अप्रभ्रश भई मन्थली भएको मान्यता छ ।

         त्यसैगरी प्राचिन किम्वदन्ती अनुसारविद्धत वर्गमा अर्को प्रसंग पनि पाईन्छ । आदिकालदेखि नै यस स्थानमा माझी जातिको वस्ती रहँदै आएको, जाडँ उनीहरुको मुख्य पेय भएको र माझी भाषामा मुन भनेको जाडँ र थलो भनेको खान बस्ने ठाउँ भन्ने बुझाउने भएकाले यसलाई जाडँ खाने र बस्ने स्थानको रुपमा पनि मन्थलो भन्न थालिएको र यसै शब्दको अपभ्रंशबाट मन्थली हुन गएको हो । मन्थली भन्ने स्थान खासगरी गाउँलाई जनाउने भएतापनि समयक्रममा त्यसभन्दा तल रहेको बेसी पनि मन्थली बेसी भनेर चिनिन थालियो ।

 

भौगोलिक अवस्थिति

प्रदेश : वागमती

जिल्ला : रामेछाप

सिमाना : पूर्वमा रामेछाप नगरपालिका, पश्चिममा खाँडादेवी र दोरम्वा गाँउपालिका, उत्तरमा लिखु तामाकोशी गाउँपालिका र दोलखा जिल्लाको मेलुङ्ग गाँउपालिका र दक्षिणमा सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ।

क्षेत्रफल : २११.७७ वर्ग किलो मिटर (२११७७ हेक्टर)

जनसंख्या :२०६८ सालको जनगणना अनुसार ४५,४१६ जनसख्या ( २४,६६६ महिला र २०,७५०पुरुष)

२०७७ सालमा (प्रक्षेपित) अनुसार  ५१,२४२जनसख्या (२७८३० महिला र २३४१२ पुरुप)

प्रशासनिक एंव राजनैतिक विभाजन

प्रशासनिक केन्द्र : मन्थली

नगर सभा : ७५ जना

कार्यपालिका सदस्य : २४ जना

वडा संख्या :  १४

स्वास्थ्य संस्था : १ अस्पताल १ प्राथमिक स्वास्थ्य केन्द्र, ९ स्वास्थ्य चौकी, ३ आधारभूत स्वास्थ्य चौकी, ८शहरी स्वास्थ्य केन्द्र, १ आयुर्वेदिक स्वास्थ्य केन्द्र, १सहकारी अस्पताल, २ निजी अस्पताल र ३ पोलिक्लिनिक ।

शैक्षिक संस्थाहरु: आधारभूत विद्यालय ५० ( ४७ सामुदायिक र ३ संस्थागत ), माध्यमिक विद्यालय २२ ( १९ सामुदायिक र ३ संस्थागत )वाल विकास केन्द्र  ८०,  सामुदायिक सिकाई केन्द्र  ९ , प्राविधिक शिक्षालय  १,सामुदायिक क्याम्पस  १,  विशेष शिक्षा स्रोत कक्षा १ ।